काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबारे कांग्रेस-एमाले विभाजित

0 Shares

काठमाडौँ । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले विभाजित बनेका छन् । यसअघि तीन महिना तलब रोकिँदा गुरागाईंलाई कार्यालय प्रवेश गराउन एकढिक्का बनेका दुई ठूला पार्टी अहिले दुई धारमा बाँडिएका हुन् ।

बजेट डेडलक र बालेनको चुनौती

स्वतन्त्र मेयर बालेन शाह बजेट ल्याउनुपर्ने दबाबमा भए पनि गुरागाईंलाई साथमा राखेर बैठक गर्न तयार छैनन् । यही कारणले गत पुसदेखि महानगरको कार्यपालिका बैठक बस्न सकेको छैन । स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक पनि रोकिएको छ ।

महिनामा एकपटक बस्नैपर्ने बैठकसमेत बोलाउन नसक्दा महानगर अहिले अनिर्णयको बन्दी बनेको छ । महानगरमा नेपाली कांग्रेसको बहुमत र त्यसपछि एमालेको ठूलो उपस्थिति रहेकोले बालेन शाह अल्पमतमा छन् ।

दलहरूको अडान

स्थानीय सरकार सञ्चालन ऐनबमोजिम प्रमुख प्रशासकीय अधिकृतबिना नगरकार्यपालिका र नगरसभा बैठक बस्न नसक्ने एमालेको निष्कर्ष छ । महानगरमा उपमेयर सुनिता डंगोलले एमालेको नेतृत्व गरिरहेकी छन् भने वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले कांग्रेसको नेतृत्व गरिरहेका छन् ।

यता, कांग्रेस भने प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा राखेर भए पनि बजेट ल्याउनुपर्ने पक्षमा छ । कांग्रेसबाट निर्वाचित वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले साउन १ गतेदेखि सबै काम रोकिने भएकाले कुनै पनि हालतमा बजेट ल्याउनुपर्ने बताएका छन् । कार्कीले मेयर र केपी ओलीको टकरावका कारण महानगरमा भाँडभैलो गर्न नपाइने भन्दै गुरागाईंलाई महानगरको हितका लागि बिदा लिन वा मेयरले भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

महानगरका ३२ वडामध्ये कांग्रेसले १८, एमालेले १२, नेकपा एकीकृत समाजवादीले एक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वडाको नेतृत्व गरिरहेका छन् ।

उपमेयर डंगोलले प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिका प्रश्नबाट भाग्न दिन नहुने र उनले बैठकमा नै सामना गर्नुपर्ने अडान राखेकी छन् । वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले आगामी आर्थिक वर्षको बजेटबारे कुनै पनि बेला कार्यपालिका बैठक बस्न सक्ने संकेत गर्दै बाहिर जिल्ला नजान खबर आएको बताए ।

कानुनी व्यवस्था र अख्तियारको अनुसन्धान

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पेस गरिसक्नुपर्ने व्यवस्था छ । अन्य स्थानीय तहले बजेट ल्याइसकेका बेला काठमाडौँ महानगरमा भने भद्रगोलको अवस्था छ । महानगरमा अन्तिमपटक पुस ८ गते कार्यपालिका बैठक बसेको थियो ।

मेयर बालेनले गुरागाईंमाथि काठमाडौँ टावरको नक्सापास प्रक्रिया नपुर्‍याई नक्सा पास गरेको आरोप लगाएका थिए । उक्त आरोप पुष्टि हुन सकेको छैन । तीन महिनासम्म तलब रोकिएपछि गत चैत २१ गते उपमेयर डंगोल, प्रवक्ता मानन्धरलगायत कार्यपालिका सदस्यले ढोका फोडेर गुरागाईंलाई कार्यालयमा हाजिर गराएका थिए । टावरकै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।

गुरागाईंको भनाइ र राजनीतिक पहल

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफू बिदामा बस्नुपर्ने कुनै कारण नरहेको भन्दै यस्तो किचलोमा बस्न मन नभएको बताएका छन् । उनले मेयर र उपमेयरले नै वार्ता गरेर सरुवा गरेको भए पहिले नै सरुवा भइहाल्ने धारणा राखे ।

महानगरको बजेटको विषयमा गत बिहीबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मेयर बालेनसँग भेट गरेकी थिइन् । उनले बालेनलाई समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने आश्वासनसमेत दिएको स्रोत बताउँछ ।

उता महानगरका प्रवक्ता नवीन मानन्धरले यही महिनाभित्र बजेट नगरसभामा पेस हुने बताएका छन्।

सम्बन्धित समाचार