काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिका देशको भविष्य भएकाले उनीहरूलाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
आज वीरेन्द्रनगर नगरपालिका–८ ले आयोजना गरेको वातावरणमैत्री र बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि स्थानीय, प्रदेश र सङ्घ सरकारले जिम्मेवारी बोधका साथ ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे। उनले भने, “बालबालिकालाई हामीले आज सुरक्षित, सशक्त र सम्मानजनक वातावरण दिन सक्यौँ भने मात्र भोलिको समुन्नत समाज निर्माण सम्भव हुन्छ ।”
वातावरण संरक्षण र बाल अधिकार प्रवर्द्धनलाई परस्पर पूरक विषयका रूपमा जोड्दै स्वस्थ वातावरणमा हुर्कने बालबालिका नै समुन्नत राष्ट्र निर्माणका संवाहक हुने मुख्यमन्त्री कँडेलले बताए। कर्णाली प्रदेश सरकारले बालमैत्री समाज निर्माणका लागि नीति, बजेट र कार्यक्रमहरूलाई प्राथमिकतामा राखी बालबालिकाको स्वास्थ्य, शिक्षा, अभिव्यक्ति तथा सुरक्षित हुने अधिकार सुनिश्चित गर्दै बालमैत्री संरचना विकास ध्यान दिने मुख्यमन्त्रीले बताए।