रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका सई खड्कामाथि प्रहरी प्रधान कार्यालयले कारवाही गर्ने

0 Shares

काठमाडौं । भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका प्रहरी सहायक निरीक्षक (सई) कमल खड्कामाथि प्रहरी प्रधान कार्यालयले कारवाही गर्ने भएको छ । त्यसको लागि ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत उनलाई प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आदेश दिइएको छ ।

विहिबार त्यस्तो आदेश पाए पनि खड्का अहिलेसम्म प्रहरी प्रधान कार्यालयमा हाजिर भने भैसकेका छैनन् । नेपालगन्जबाट आउंदै गरेको र आइतबार वा सोमबारसम्म हाजिर भैसक्ने बताइएको छ । त्यसपछि उनीमाथि थप कारवाही अगाडि बढ्नेछ । उनलाई चेतावनी दिएर छोड्ने कि नसिहत वा निश्चित अवधिको लागि निलम्बनसहितका अन्य कारवाही गर्ने भन्ने बारेमा छलफल भैरहेको बताइएको छ ।

सहकारी ठगी प्रकरणमा रहेका आफ्ना सभापति लामिछानेलाई रिहा गर्नको लागि दबाब दिन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले अहिले देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ । त्यहीक्रममा सई खड्का प्रहरीको बर्दीसहित रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भएका थिए । नेपालगन्जमा राखिएको कार्यक्रम स्थलमै सरकारी बर्दीमै पुगेर खड्काले हस्ताक्षर गरेका थिए ।

त्यसलगत्तै रास्वपाका कार्यकर्ताहरुले नै उनको तस्विरलाई भाइरल बनाएका थिए । कतिपयले सामाजिक संजालमा खड्काले हस्ताक्षर गर्दै गरेको तस्विर राखेर लामिछानेलाई जेल हालिएकोमा प्रहरी भित्रै असन्तुष्टि बढिरहेको भन्दै विद्रोह हुन सक्ने आसयका पोष्टहरु गरिरहेका छन् । त्योसंगै यो घटना गृह प्रशासनमा समेत एक किसिमको खैलाबैला मच्चाएको छ ।

त्यस लगत्तै प्रहरी प्रधान कार्यालयले खड्का माथि कारवाही प्रकृया शुरु गरेको हो । प्रहरी संगठनको आचारसंहिता अनुसार प्रहरी कर्मचारीहरूले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ। निष्पक्षता र संस्थाको मर्यादा कायम राख्नुपर्ने संवैधानिक दायित्व विपरीत खड्काको व्यवहारले प्रहरी संगठनको छविमा आँच पुर्याएको ठहर गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

जागिरबाट अवकाश पाए पछि कुनै राजनीतिक पार्टीमा आवद्ध हुन अवरोध नभए पनि प्रहरीको सेवा अवधिभर कुनै पनि राजनीतिक पार्टीको समर्थन वा विरोध गर्न कानुनले नै निषेध गरेको छ ।

सम्बन्धित समाचार