काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका ७ चतरा-कान्छी चोक सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा बाबु छोरासहित तीनको मृत्यु भएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय विन्दु यादव छन् । प्रहरीका अनुसार उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा इनर्चनकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र विन्दु यादवसँग सवार इटहरी ७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरूको धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।