0
Shares
काठमाडौं । झापाको बिर्तामोड १ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगलागी भएको छ । टिनको छाना र टिनले बारिएको पसलमा आज अपराह्न ४ बजेको समयमा आगो लागेको हो ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बलभद्र प्रसाईद्वारा सञ्चालित पसलमा उनकी ३८ वर्षीया श्रीमती सोइताले मादक पदार्थ सेवन पश्चात श्रीमानसँगको झगडामा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगो लगाएको आरोप लागेकी सोइता हाल फरार भएकी छन् ।
स्थानीयवासी र बिर्तामोड नगरपालिकाको सहयोगमा २० मिनेटमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट खाजा नास्ता, भाँडाकुँडा, फ्रिजलगायत पसलभित्र रहेका सामग्री जलेर करिब दुई लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।