काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्राय कोही नेता बोल्न चाहँदैनन् । पार्टीमा ओलीको एकलौटी निर्णय हुँदा समेत अरू नेताहरू नबोलेर चुपचाप बस्ने गरेका छन् । यदि ओलीको निर्णय पार्टीमा कार्यान्वयन नहुने स्थिति भएमा भीम रावल बनाइ दिने भन्दै धम्की दिएर उनको निर्णय कार्यान्वयन गराउने गरिएको छ ।
आगामी २०८३ साल मंसिर भित्र एमाले महाधिवेशन ११ औँ महाधिवेशन पुरा गरी सक्नुपर्ने बाध्यता भएपछि ओली विरोधी नेताहरू सलबलाउन थालेका छन् । एमाले महाधिवेशन नजिकिन थालेपछि ओलीको विकल्पमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई विकल्पको रूपमा अघि सारिएको छ । भण्डारीलाई पार्टी नेतृत्व ल्याउन ओली विरोधी छिमेकी देशको भ्रमण गराउनुका साथै देशभित्रै पार्टीका कार्यक्रममा सक्रिय गराउन थालेका छन् ।
पूर्वराष्ट«पति भण्डारीले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटे लगत्तै राजनीतिक वृत्तमा तरंग पैदा भयो । ओली भण्डारी बिच प्रधानमन्त्री निवास बालुवाटारमा कुन कुन विषयमा छलफल भयो भन्ने बारेमा बाहिर सार्वजनिक भएको छैन । राजनीतिबाट टाढा भएकी भण्डारी पार्टीमा सक्रिय हुन थालेपछि ओलीसँग भेट भएपछि अर्थपूर्ण रूपमा हेरिएको छ । तर, एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री ओली र पूर्व राष्टपटि भण्डारी भेट बारेमा अहिलै बोल्ने बेला नआएको प्रतिक्रिया दिए । लामो समय ओली निकट रहेका बास्कोटा पछिल्लो समय भण्डारीसँग नजिकिएका छन् । पार्टी नेतृत्वमा भण्डारीलाई ल्याउने बारेमा बास्कोटाले खुलेर बोल्न चाहेनन् ।
ओली निकट मानिने एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत पार्टी नेतृत्वको अवधि र उमेर तोकिनुपर्ने आवाज बारम्बार उठाउँदै आएका छन् । आगामी महाधिवेशनमा पोखरेलेले समेत अध्यक्षमा भिड्ने संकेत देखाएका छन् ।
एमालेको आगामी नीति महाधिवेशनमा पार्टी नेतृत्वको उमेर हद र कार्यकाल तोकेर जानुपर्ने भन्दै घुमाउरो तरिकाले ओलीको विकल्प खोज्न थालेको छ । एमाले नीति माहाधिवेसनले समेत ओलीको विकल्प खोज्न सक्ने बताएको छ । पछिल्लो समय ओलीकै कार्यशैलीका कारण पार्टी कमजोर भएको विश्लेषण हुन थालेपछि नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज बढ्दो छ ।
ओली सरकारमा जाँदा समेत पार्टीको अवस्था बढ्ने भन्दा झन् खस्कँदै गएको छ । ओलीको कार्यशैली, स्वास्थ्य, उमेर हद वा कार्यकाल विधि कारण देखाएर उनी बिदा हुने अवस्था आउन सक्ने नेताहरू बताउन थालेका छन् । ओलीबाट पार्टी धेरै अघि बढ्ने नदेखिएपछि एमालेको भावी नेतृत्व कसलाई ल्याउने भन्ने बारेमा नेताहरू मसिनो रूपमा बहस र छलफल प्रारम्भ गर्न थालेका छन् ।