उदयपुरमा १४ वर्षीया किशोरी र २८ वर्षीय युवकको शव फेला

0 Shares

काठमाडौं । उदयपुरमा एक किशोरी र एक युवकको शव फेला परेको छ।

चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा शंकास्पद अवस्थामा किशोरी र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए।

स्थानीय २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ वर्षीय किशोरी मञ्जु राईको शव बुधबार बिहान गाउँमै फेला परेको हो। मञ्जुको शव अमलचौरीको सार्वजनिक बाटोमा फेला परेको र त्यसको दुई सय मिटर नजिकै रविनको शव भेटिएको प्रहरीले जनाएको छ। रविनको शव भने झुन्डिएको अवस्थामा फेला परेको हो।

‘दुवै शव पोस्ट मार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ,’ एसपी योगीले भने, ‘अहिले पनि प्रहरी घटनास्थलमै छ। त्यहँ थप अनुसन्धान कार्य हुँदैछ।’

इलाका प्रहरी कार्यालय बेल्टारबाट इन्स्पेक्टर बबिन राईको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको उनले बताए। बिहानै स्थानीयले गाउँमा दुई शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनीहरुको मृत्युको कारण भने खुलिसकेको छैन।

सम्बन्धित समाचार