अनेरास्ववियुको नेतृत्वमा पुग्न यी हुन् आकांक्षी

0 Shares

काठमाडौं । नेकपा एमालेको शक्तिशाली भातृ संगठन अनेरास्ववियुको आगामी जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा २४ औँ राष्ट्रिय महाधिवेशन हुँदै छ । महाधिवेशन आउन जम्मा २ दिन मात्रै बाँकी हुँदा नेतृत्वमा पुग्ने विद्यार्थी नेताहरू लविङमा तीव्र रुपमा लागेका छन् ।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अखिलको ३२ वर्षे उमेर हद लागेपछि पहिलो पटक सम्मेलन हुन लागेकाले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा अखिलबाट अध्यक्षका आकांक्षीसहित पूर्वविद्यार्थी अध्यक्षहरूलाई बोलाएर प्रधानमन्त्रीले छलफल गरेका हुन् । छलफलपछि विद्यार्थी निर्वाचन सकेसम्म सर्वसम्मत गर्न निर्देशन दिएको छलफलमा सहभागी एक विद्यार्थी नेताले बताए ।

ब्रिफिङ गर्न जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको नेतृत्वमा बालुवाटार पुगेका पूर्वअध्यक्ष माधव ढुंगेल, किशोर विक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बरालसहित वर्तमान पदाधिकारीलाई अध्यक्ष ओलीले पार्टी चौतर्फी घेराबन्दीमा रहेकाले अनेरास्ववियुले नेतृत्व सहमतिमै चयन गर्न सुझाव दिएको बैठकमा सहभागी एक नेताले बताए ।

सर्वसम्मत नेतृत्व चयन गर्न प्रधानमन्त्री ओली समन्वय संयन्त्र प्रमुख ढकालसहित पूर्वअध्यक्षहरू माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बराल र वर्तमान अध्यक्ष समिक बडाललाई जिम्मेवारी दिएका छन् । युवा संघ नेपाल र प्रेस चौतारीमा नेतृत्व चयन सर्वसम्मत भएकाले अखिलको नेतृत्व चयनमा समेत निर्वाचन हुने सम्भावना कम देखिएको नेताहरूले बताएका छन् ।

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागेपछि अधिकांश स्थापित नेताहरू बिदा भएका छन् । उमेर हद लागेपछि सचिवदेखि तलबाट नेतृत्वमा आउने देखिएको छ । अध्यक्षका लागि दिपक धामी, प्रकाश पौडेल, सुजन कडरिया, अन्जना शिवाकोटी, आरती भट्टराईलगायत छन् ।

त्यसमध्ये सर्वसम्मत भएमा प्रकाश पौडेल र दिपक धामीमध्ये एक जना आउन सक्ने विद्यार्थी नेताहरूले बताएका छन् । यदि, निर्वाचन हुने स्थिति आएमा भने भन्नै नसकिने अवस्था देखिएको छ । अरु उपाध्यक्ष, महासचिवलगायत पदमा अध्यक्षकै आकांक्षीबाट आउने बताएको छ ।

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले अखिलको २४ औँ राष्ट्रिय सम्मेलन नसकिए पनि सबै तयार पूरा भएको जानकारी दिए । ‘राष्ट्रिय सम्मेलनको सबै तयार पूरा भएको छ, देशैभरबाट आउने १५ सय प्रतिनिधिको टुंगो लगाएर कपितय प्रस्थानसमेत गरी सक्नुभएको छ,’ घर्तीले भने, ‘अखिलको नेतृत्वमा पहिलो पटक ३२ वर्षे उमेर हद लागेकाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने छ । यदि, सहमति नभए निर्वाचन विधिबाट चयन हुने छ ।’ अखिलको विधान बमोजिम निर्वाचनपछि ९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुने भएको छ ।

सम्बन्धित समाचार