काठमाडौं । मृर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेर हासिल गरेको ऐतिहासिक उपलब्धिमा एनसेल फाउन्डेसन उनीप्रति हार्दिक सम्मान प्रकट गर्दछ। मृर्गौला प्रत्यारोपणपछि सगरमाथाको सफल आरोहण गर्ने पेम्बा पहिलो व्यक्ति हुन्।
यो ऐतिहासिक सफलता साहस, संकल्प र शक्तिको उदाहरण मात्र नभई, दृढ संकल्पका साथ देखिएका सपना असम्भव छैन भन्ने सशक्त सन्देश पनि हो। उनले वैशाख ३१ गते बिहान सगरमाथाको शिखर चुम्न सफल भएका थिए।
शेर्पाको यस सहासी यात्रामा सहभागी भई आवश्यक सहयोग गर्न पाएकोमा एनसेल फाउन्डेसन गर्व महसुस गर्दछ। यो यात्रा एक व्यक्तिगत विजय मात्र नभई शारीरिक चुनौती भोगिरहेकाका लागि आशाको उज्यालो साबित भएको छ र मानिसमा रहने असीम सम्भावनालाई पुष्टि गरेको छ। यसका, साथै यो यात्राले जलवायु परिवर्तनका कारण संकटमा परेका हिमालको संरक्षणको लागि जनचेतना फैलाउने महत्त्वपूर्ण कार्य गरेको छ।
‘सगरमाथा आरोहणभरि मेरो स्वास्थ्य सबल रह्यो। यस यात्रामा मैले विश्वभरका ८५ करोड भन्दा बढी मिर्गौला रोगीहरूको आशा बोकेर सगरमाथाको चुचुरोमा पाइला राखेँ र इच्छा गरेमा केही पनि असम्भव छैन भन्ने कुरालाई पूरा गर्न सफल भएँ। यो यात्रा पग्लिँदै गएको हाम्रो हिमाल जोगाउनको लागि पनि एउटा सन्देश थियो। मैले धेरैलाई गुहारेँ, तर मेरो सपनालाई एनसेल फाउन्डेसनले मात्र विश्वास गरेर सम्भव बनायो। म साथ र समर्थनका लागि हृदयदेखि आभारी छु,’ सगरमाथाको सफल आरोहणपछि शेर्पाले भने।
हिमाल केवल आरोहण गरेर सफलता चुम्ने शिखर मात्र होइनन्। तिनीहरू हाम्रो पर्यावरणको प्रतीक हुन् र संरक्षणका लागि हामी सबैले मिलेर प्रयास गर्नुपर्छ भन्ने सन्देश पेम्बा शेर्पाको यो आरोहणले विश्वलाई दिएको छ।