टोस्ट मास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथ डाइरेक्टरमा दिप्ती आचार्य निर्वाचित

0 Shares

काठमाडौं । नेपाल र उत्तर भारत सम्मिलित डिस्ट्रिक्ट ४१ को वार्षिक तीन दिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा गुरगाउँ, मेरिडियन, दिल्ली एनसिआरबाट डिस्ट्रिक्ट ४१ का टोस्ट मास्टर्स भेला भएका थिए ।

डिस्ट्रिक्ट ४१ द्वारा आयोजित सम्मेलनमा तीन सयभन्दा बढी सहभागीको उपसस्थिति रहेको थियोे । नेपालकी मुनाल प्रधानले डिस्ट्रिक्ट डाइरेक्टरका रुपमा सो सम्मेलनको अध्यक्षता गरेकी थिइन् ।

उक्त सम्मेलनमा सन् २०२५ जुलाईदेखि २०२६ का लागि टोस्ट मास्टर्स डिस्ट्रिक्ट ४१ का लिडरको चयन गरियो । सम्मेलनले क्लबग्रोथ डाइरेक्टरमा नेपालकी दिप्ती आचार्यलाई निर्वाचित गर्यो । त्यस्तै, डिस्ट्रिक्ट डाइरेक्टरमा भारतका गौरव चौधरी र कार्यक्रम गुणस्तर डाइरेक्टरको रूपमा श्वेतांक शर्मा निर्वाचित भए ।

उक्त सम्मेलनमा टेवल टपिक्स र अन्तर्राष्ट्रिय वक्तृत्व कला प्रतियोगिता पनि आयोजना गरिएको थियो । टेबल टपिक्स वक्तृत्व कलामा नेपालकी सम्पदा रेग्मी प्रथम, साहिल बराल दोस्रो र देवांश तेस्रो भए । अन्तर्राष्ट्रिय वक्तृत्व कला प्रतियोगितामा, नेपालकी संस्कृति आचार्य प्रथम, श्रेया जैन द्वितीय र प्रसन्न श्रेष्ठ तृतीय भए ।

त्यस्तै कार्यक्रममा सन् १९९९ विश्व पब्लिक स्पिकिंग च्याम्पियन क्रेग भ्यालेन्टाइनले वक्तृत्व कला सम्बन्धित तालिम दिए भने प्राध्यापक डा. नीरजा पाण्डेले ‘नेतृत्वको जीवनमा महत्व’ तथा ‘प्रभावकारी प्रस्तुति’ सम्बन्धित विषयमा बोलेका थिए ।

मन्तव्य, उच्च क्षमताका प्रतियोगिता र नयाँ नेतृत्व चयनका साथ टोस्ट मास्टर्सका सञ्चार सम्बन्धी मूल्यको उच्च सम्मान गर्दै सम्मेलन सम्पन्न भयो ।

नेपालबाट विजयी भएकी आचार्यले अब क्षेत्रीय प्रतिस्पर्धामा भाग लिने छिन् । सो प्रतिस्पर्धामा विजयी भएमा उनी विश्व वक्तृत्व कलाको फाइनलमा पुग्ने छिन् ।

सम्बन्धित समाचार