काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज साँझ हुने भनिएको भेट स्थगित भएको छ। ओली-देउवाबीच साँझ ७ बजे भेट्ने समय तय भए पनि स्थगित भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताइएको थियो। प्रधानमन्त्री ओलीलाई भेट्न देउवा नगएपछि मन्त्रिपरिषद् बैठक पनि अनिश्चित भएको छ। अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्ने कुनै जानकारी प्राप्त नभएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बताए।
मन्त्रिपरिषद् बैठकको अनिश्चयसँगै गभर्नर नियुक्ति पनि अनिश्चित बनेको छ। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ १ गतेको पत्रकार सम्मेलनमा ४ दिनभित्रै गभर्नर नियुक्त गरिसक्ने दाबी गरेका थिए।
गत चैत २५ गतेयता केन्द्रीय बैंक नेतृत्वविहीन छ। विभिन्न स्वार्थ समूहको दाउपेच र सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व तहमा कुरा मिल्न नसकेका कारण गभर्नर नियुक्ति प्रभावित हुँदै आएको छ।