ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

0 Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) मा बुद्धि अकेला बढुवा भएका छन्।

अकेला यसअघि बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए। बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव भएका उनी सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअरमा प्रवेश गरेका थिए। सन् २००६ देखि उनी ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।

बैंकमा रहँदा अकेलाले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका विभागमा जिम्मेवारी सम्हालेका छन्। पछिल्लो समय उनी बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) का रूपमा कार्यरत थिए।

अकेला ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षसमेत हुन्।

उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।

ग्लोबल आइएमई बैंकका अनुसार बैंकले हाल ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर सञ्चालन गर्दै आएको छ। बैंकका तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसमेत छन्।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार