काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ ।
जसका कारण हाल मधेस प्रदेशको पश्चिमी भाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । यी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका थोरै स्थान र बाँकी भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति पनि यही क्रम दोहोरिने छ ।
यी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका थोरै स्थान र बाँकी भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।