काठमाडौं । टिकटक बनाउन बोलाएर बालकको गोली हानेर हत्या गरिएको छ । घटना रौतहटमा भएको हो ।
प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा लगेर गोली हानिएको हो ।
यही वैशाख ६ गते वृन्दावन नगरपालिका ७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाए । दिउँसो ४ बजे घरबाट बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका ८ को चाँदी खोलामा जाने क्रममा गढीमाई मन्दिर नजिक पुगेपछि उनलाई सहनीसँगै साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनीले बालकलाई कब्जामा लिएर गएका थिए ।
पुरानो रिसिइबीका कारण नागेन्द्रले बालकलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको प्रहरीले जनाएको हो ।
कृष्णका बुबाले सञ्चालन गरेको इँट्टा भट्टाको खाल्डोमा डुबेर नागेन्द्रकी भतिजीको मृत्यु भएको विषयमा उनीहरूबीच पारिवारिक रिसिइबी रहेको प्रहरीले जनाएको छ । योसँगै अपहरणको मुद्दा पनि देखिएको छ ।
सोही रिसिइबीका कारण टिकटक बनाउने बहानामा कृष्णलाई बोलाएर छातीमा २ राउन्ड गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो ।
प्रहरीले हत्यामा प्रयोग भएको मोटरसाइकल खरिद गर्ने विकास पटेल र ग्यारेजका मालिक अनिल साहलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । उनीहरूमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।