बुबाको दाह संस्कार सकेर घर फर्किएका छोरा त्रिशूलीमा बेपत्ता

0 Shares

काठमाडौं । क्यान्सर लागेर निधन भएका बुबाको दाह संस्कार गरेर गोरखा फर्किंदै गरेका छोरा त्रिशूली नदीमा बेपत्ता भएका छन । ट्याक्सी नदीमा खसेसँगै अन्य पाँच जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका ७ का ३५ वर्षीय अर्जुन सिर्मल रोका, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनमाया रोका, २८ वर्षीया अञ्जना रोका, नौ वर्षीय बालक आगमन नगरकोटीको निधन भएको हो । १८ वर्षीय दिवस रोका बेपत्ता छन् ।

शुक्रबार साँझ काठमाडौंको पशुपति आर्यघाटमा बुबा शंकरको दाह संस्कार सकेर काजका लागि गोरखा जाँदै गरेका दिवससहित ६ जना चढेको ट्याक्सी त्रिशूलीमा खसेको थियो । घटनामा शंकरकी आमा जुनमाया, शंकरकी दिदी बहिनी हरिमाया र अञ्जना दुर्घटनामा ज्यान गुमाएका छन् ।

त्यसैगरी, हरिमायाका छोरा आगमनले पनि सोही दुर्घटनामा ज्यान गुमाएका छन् । ट्याक्सी चालक अर्जुन पनि जुनमायाको माइलो ज्वाई भएको खुलेको छ । ट्याक्सीमा सवार दिवसबाहेक सबैको शव फेला परिसकेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालले जानकारी दिए ।

शंकरका आफन्तहरू तीन वटा गाडीमा गोरखातर्फ जाँदै थिए । दुई वटा गाडी मुग्लिन पुगेर कुरे पनि अर्को गाडी नपुगेपछि प्रहरीलाई जानकारी गराएका थिए । लगत्तै खोजी गर्दै जाँदा सडकको डिभाइडर भाँच्चिएको देखेपछि त्रिशूली नदीमा खसेको देखिएको थियो ।

चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्ने पृथ्वी राजमार्गअन्तर्गत मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खसेको थियो । सशस्त्र प्रहरीको गोताखोर टोलीसहित स्थानीयको सहयोगमा दिवसको खोजी भइरहेको छ ।

परिवारका सदस्य गुमाएको रोका परिवारमा थप पाँच जनाको मृत्यु र एक जना बेपत्ता हुँदा पूरै गाउँ शोकमा पुगेको छ ।

सम्बन्धित समाचार