काठमाडौं । फेब्रुअरी महिनामा नेपालमा ९६ हजार ८ सय ८० पर्यटकले नेपाल भ्रमण गरेको छ । पछिल्लो समय कोभिड अगाडिकै अवस्थामा पर्यटक आगमन हुन थालेको छ ।
सन् २०१९ को फेब्रुअरीमा १ लाख २ हजार ४२३ जना, २०२० को फेब्रुअरीमा ९८ हजार १९० जना पर्यटक आएका थिए । सन् २०२१ को फेबु्रअरीमा जम्मा ९ हजार २ सय ६६ जना मात्रै आएकोमा सन् २०२३ देखि भने फेब्रुअरी महिनामा क्रमशः ९० हजारभन्दा बढी नै पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांकले देखाउँछ ।
सबैभन्दा धेरै पर्यटक भारतबाट
नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्यामा भारत अग्रस्थानमा रहेको छ। फेब्रुअरी महिनामा मात्र १९ हजार १ सय ८७ भारतीय पर्यटक नेपाल आएका छन्, जसले कुल पर्यटकको १९।८ प्रतिशत हिस्सा ओगट्छ। त्यसपछि क्रमशः १० हजार ३ सय ४८ अमेरिकी पर्यटक, ८ हजार २ सय ३२ चिनियाँ पर्यटक, ५ हजार ६ सय ९ थाइ पर्यटक र ५ हजार ५७ बेलायती पर्यटक नेपाल आएका छन्।
दक्षिण एसियाली देशमा बंगलादेशबाट ४ हजार ८७४ जना, श्रीलंकाबाट ४ हजार ३ सय ७ जना, अष्ट्रेलियाबाट ३ हजार ७ सय ३७ जना, म्यानमारबाट ३ हजार १ सय ४९ जना र दक्षिण कोरियाबाट २ हजार ७ सय ७९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
नेपाल आउने पर्यटकहरूको क्षेत्रगत विवरण हेर्दा दक्षिण एशियाबाट सबैभन्दा बढी पर्यटक आएका छन्। दक्षिण एशियाली क्षेत्र ९सार्क राष्ट्रहरू० बाट ३० हजार १ सय ९६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३१ प्रतिशत हो। अन्य एसियाली मुलुकहरूबाट २८ हजार ९८ पर्यटक आएका छन्। युरोपबाट १५ हजार ९ सय ७१ पर्यटक नेपाल आएका छन्। ओसिनियाबाट ३,९६१, अमेरिकी महादेशबाट १२,५६०, मध्य पूर्वबाट ८७९, अफ्रिकाबाट ३२०, अन्य मुलुकहरूबाट ४,८९५ पर्यटक नेपाल आएका छन्।