काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन् । अखिल क्रान्तिकारी कोशी प्रदेशको को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिंगो पार्टी उत्पिडित समुदायमै केन्द्रित हुने धारणा राखेका हुन् ।
अध्यक्ष प्रचण्डले यसअघि बसेको केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेकाले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको बताए । यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको जानकारी दिए । पार्टीकै अर्को निर्णयअनुसार जनतासँग माओवादी तराई मधेस जागरण थालिएको प्रचण्डको भनाई छ ।
अभियानको क्रममा आर्थिक समृद्धिका संभावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अभियान निकै प्रभावकारी बन्दै गरेको बताए । ‘हिजोदेखि सामन्ती राज्यले विभेदमा राखेको र आफूहरुले जनयुद्धमार्फत उनीहरुका मुद्दा उठाएको, त्यहीअनुरूप अधिकार संविधानमा राखिएको छ । तर कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई समेत सम्बोधन गर्न हुलाकी मार्ग केन्द्रित अभियान थालिएको छ ।’ उनले भने ।
आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सन्चालन गरिने जानकारी दिँदै अध्यक्ष प्रचण्डले देशकै होचो स्थानबाट थालिएको जनतासँग माओवादी अभियान देशकै उचो ठाउँमा लगेर समापन गरिने बताए । ‘यो अभियान स्वरुप र सन्देश दुबै हिसाबले मौलिक हुने छ । यसले वास्तविक राष्ट्रिय एकता कायम गर्ने छ’ उनले भने, ।
भर्खरै सम्पन्न अखिल क्रान्तिकारीको चुनावले पार्टीभित्र लोकतान्त्रिक अभ्यास स्थापित गरेको उल्लेख गर्दै प्रचण्डले यसले अरु विद्यार्थी संगठन भन्दा अखिल क्रान्तिकारीलाई नयाँ उचाईमा पुर्याउने दाबी गरे । ‘देशभर पार्टीको पक्षमा माहोल बनिरहेको र पछिल्लो स्थानीय तह उपनिर्वाचले माओवादीलाई कोसी प्रदेशमा पहिलो पार्टी बनाएको छ’ उनले भने, ‘आगामी स्ववियु निर्वाचनमा पनि अखिल क्रान्तिकारीलाई पहिलो संगठन बनाउन अपिल गर्दछु ।’