जनताको अवस्था बदल्न एकताबद्ध हसन आवश्यक छ : प्रचण्ड

0 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशीला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताए ।

‘नेपाली जनताको बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘यी उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, जनयुद्ध, २०६२र६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनको निर्णायक भूमिका छ ।’

पूर्वप्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डामार्फत बदलिएको प्रजातन्त्र दिवसले देशका चुनौती छिचोल्दै नवीनतम् सम्भावना प्राप्त गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

उनले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्ने सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार