बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त

0 Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीे प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका हुन् । प्राधिकरणको आज बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । प्राधिकरणले लोकसेवा आयोगको स्वीकृति पश्चात रिक्त कार्यकारी निर्देशक कार्यक्षमताको मूल्यांकनबाट बढुवा गरेको हो ।

सुवेदीले ७७.१९४ अंक पाएर कार्यकारी निर्देशक बन्न सफल भएकोे प्राधिकरणले जनाएको छ । पछिल्लो समयमा सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव, प्राधिकरणको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका थिए । प्राधिकरणको कार्यकारी निर्देशकको प्रतिस्पर्धामा सुवेदीसहित प्राधिकरणका निर्देशकहरु कमल रेग्मी र पुजन ढुंगेल रहेका थिए ।

बिमा समिति कर्मचारी सेवा शर्त नियमावली २०६८ को विनियम बमोजिम संभाव्य उम्मेदवारको कार्य सम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता, तालिमवापत प्राप्त गरेको कुल अंकको आधारमा सर्वाधिक अंक प्राप्त गरेकाले बढुवा गरिएको पदपूर्ती समितिले जनाएको छ । गत जेठ १२ गते कार्यकारी निर्देशक पदबाट राजु रमण पौडेलको अनिवार्य अवकाश पछि कार्यकारी निर्देशक पद रिक्त रहेको थियो।

प्राधिकरणले गत पुस १९ गते कार्यकारी निर्देशकसहितका उच्च तहका पदहरुमा आन्तरिक बढुवाको प्रक्रियाद्वारा पदपूर्ति गरिने सूचना प्रकाशित गरेको थियो । प्राधिकरणले लोकसेवा आयोगकोे स्वीकृति पश्चात बिमा प्राधिकरणको रिक्त कार्यकारी निर्देशक, निर्देशक, उप निर्देशकदेखि सहायक निर्देशकसम्म कार्यक्षमताको मूल्यांकनबाट गरिने बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितात्मक माध्यमबाट २५ वटा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको थियो ।

प्राधिकरणले कार्यकारी निर्देशक १ जना, निर्देशक ४ जना, उपनिर्देशक ५ जनाको कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गरिने जनाएको छ । १ जना उपनिर्देशकमा आन्तरिक प्रतियोगिताका आधारमा बढुवा गरिने भएको छ । खुला तथा समावेश प्रतियोगितात्मक लिखित परीक्षाबाट सहायक निर्देशक ५ जना, सहायक निर्देशक ५ जना र सहायक प्रथम ४ जनाका लागि दरखास्त आह्वान गरेको थियो । अन्य पदको पनि नतिजा सार्वजनिक गरिएको छैन् ।

अहिले प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सूचना जारी भएर उम्मेदवार छनौटको क्रममा रहेको छ । प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयका अनुसार कमल प्रसाद रेग्मी, डा देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाइ, विष्णु बाबुु मिस्र, वुद्ध काजी श्रेष्ठ, दामोदर वसौला, डिम प्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठको आवेदन परेको छ ।

सम्बन्धित समाचार