काठमाडौं । राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस भएका छन् । सभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरे ।
उनले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने, राज्यको प्रशासनिक प्रणालीलाई चुस्त बनाउने गरी सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याइएको बताए ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१’ निजीकरण ९पहिलो संशोधन० अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरे । त्यस क्रममा उनले भने, ‘बजेट तथा कार्यक्रम तर्जुमालाई व्यवस्थित गर्नका लागि बनेको आर्थिक तथा वित्तीय उत्तरदायित्व ल्याइएको छ ।’
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरे ।