अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मनोनयन सुरु

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ ६ बजेसम्म चल्ने भएको छ । अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोट गर्न आगामी माघ १२ गते निर्वाचन हुँदै छ ।

अध्यक्षको नेतृत्वको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, सुमन थुलुङ राई, राजन आले, हेमन्त किराँती, सुदिन पौडेल र विश्वमणि थापा अध्यक्षका बलिया दाबेदार देखिएका छन् । नयाँ विधान अनुसार ३३ जना पदाधिकारी, ४८ केन्द्रीय सचिवालय र १६२ केन्द्रीय सदस्यहरू गरी २४३ जनाको निर्वाचनका लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

मनोनयन सुरु भए पनि नेताहरूबिच सहमतिमा नेतृत्व छान्ने प्रयास समेत जारी रहेको छ । सोमबार रातिसम्म सहमति जुटाउन फ्याक्शन इन्चार्ज हिमाल शर्मा, कार्यदलका संयोजक तथा पार्टी उपमहासचिव शक्ति बस्नेत, निवर्तमान अध्यक्ष पञ्च सिंह र अध्यक्षका दाबेदारहरूबिच पेरिसडाँडामा छलफल भएको थियो । सो छलफलमा दाबेदारहरूले आ आफ्नै अडान कायमै राखेकोले सहमति जुट्न नसकेको इन्चार्ज शर्माले बताए ।

उमेर हदका कारण ठुलो टिम बाहिरिएको र फेरि निर्वाचन गर्दा अर्को टिम बाहिरिने अवस्था आउने देखिएकोले सहमतिमा नेतृत्व चयनको प्रयास जारी रहने शर्माले बताए ।विद्यार्थी नेताहरू माहौल आफ्नो पक्षमा पार्न पार्टीका शीर्ष नेताहरूलाई भेट्ने क्रम तीव्र पारेका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत लगायत नेताहरूसँग भेटेर आफ्नो पक्षमा लबिङ गरिरहेका छन् ।

सम्बन्धित समाचार