“सात , सात जना छोराछोरी कसरी हुर्काए हुँला ? आफ्नो नाउँमा केही थिएन , ऐलानी जग्गामा सानो कटेरो हालेर बसेँ । मेलापात , दाउराघाँस, दु:ख र संघर्ष त कति हो कति ? ” पुतलीले कमलीसंग दु:ख बिसाई ।
कमली र पुतली सानैदेखिका मिल्ने साथी थिए । संगै पढे, संगै बढे । बिहेपछि उनीहरूको भेट भएको थिएन । लामो समयपछि आज संयोगले भेट भएको अवस्थामा उनीहरू दु:ख सूख साट्दै थिए ।
पुतलीका कुरा सुनेपछि कमलीले उसको घाउमा मलहम लगाउने प्रयास गरी, ” घरका लोग्ने मानिसले स्वास्नीको दु:ख नबुझेपछि आइमाईलाई बाँच्नै गाह्रो हुने रहेछ ।”
“आफ्नो त लोग्ने भन्नु कि शत्रु ? घरको केही मतलब राख्दैनथे । आफैं कमाउने आफैं रमाउने पाराका थिए । दिउँसै झ्याप हुने, कानो गोरुलाई औसी न पुर्ने भनेजस्तो सम्झाएको नलाग्ने थियो । तिनको बानीले गर्दा नि होला, मलाई सबैले हेप्थे ।”
कमलीले जिज्ञासा राखी, “यसरी बिग्रेका लोग्नेलाई तैँले विदेश पठाइनस् ? पसिना बगाउनु परेको भए चेत खुल्थ्यो नि !”
विगत सम्झिदै उसले भनी, “छोराछोरी पनि सानै थिए । घरमा ऋण लागेर हैरान भएँ । यसै ऋण, उसै ऋण भन्ने लाग्यो अनि ऋण खोजेरै उनलाई कुवेत पठाएँ ।”
कमलीले खुसी भएर भनी, “बुझकी नै रहेछन् त ! कमाइ पनि त पठाए होलान् ?”
“लोग्नेसंगको विछोड भए पनि केही वर्ष त खर्च सजिलै भयो । केटाकेटी पनि अलअलि पढ्न पाए तर फर्किएपछि उहीँ पुरानै चाला ! सुध्रिने भएनन् । म के गरौँ ?”
पुतलीको व्यथा सुनेर कमलीको मन भारी भयो । शब्दले सम्झाउन उसले हरतरहले प्रयास गरी ।
पुतलीले भनी, ” ल, बिदा मागेँ । मलाई पनि अस्पताल पुग्नु छ । एउटा धनाड्य व्यक्ति मृगौला फेल भएर आइ सि युमा छ रे !”
उसले आत्तिएर सोधी, “के, किन ?”
मलीन भएर पुतलीले भनी, “मलाई बाँच्नका लागि दुईवटा किडनी किन चाहियो र ? एउटै भए पुगिहाल्छ नि !”