काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्र्रीय कार्यालय च्यासलमा विहान ११ बजेदेखि बस्ने भएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ(आफ्नो धारणा राख्नु हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आ(आफ्नो धारणा राख्नुहुने छ,’ उनले भने, ‘त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।’ आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमबार जारी रहने भएको छ । माओवादी बैठक विहान ११ बजेदेखि सुरु हुने भएको छ ।
बैठक आइतबारदेखि काठमाडौँको एक पार्टी प्यालेसमा जारी छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै प्रदेश अध्यक्षहरूले प्रदेशको अवस्थाबारे ब्रिफिङ गरेका छन् । आज अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र साङ्गठनिक प्रतिवेदनउपर केन्द्रीय सदस्यहरूले आफ्ना धारणाहरू राख्नेछन् ।