शेरा दरबार जग्गा हिनामिना गर्नेमाथि कारबाही गरे साथ हुन्छ- प्रचण्ड

0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले उक्त प्रकरणमा संलग्नलाई कारबाही गरी उक्त जग्गा सरकारका नाममा ल्याउन आफ्नो पूर्ण सहयोग रहने स्पष्ट पारे ।

“कानुनविपरीत काम भएको छ भने तत्काल कारबाही गर्नुस्, जसरी ललिता निवासको जग्गा सरकारका नाममा फिर्ता ल्याइएको छ, त्यसरी नै शेरा दरबारको जग्गा फिर्ता ल्याएमा मैले सरकारलाई धन्यवाद नै दिन्छु,” उनले भने ।

राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनी रुपमा आफ्नो नाममा ल्याउने जोकोही कानुनको दायरामा ल्याइनु पर्ने उनको भनाइ थियो ।

कुनै विषयमा छानबिन गर्दै जाँदा आफू संलग्न भए पनि अनुसन्धानको दायरामा ल्याउनु पर्छ भनेको प्रसंग स्मरण गर्दै उनले शेरा दरबारलगायत अन्य प्रकरणमा दोषी देखिए कारबाही गर्न आग्रह गरे ।

सम्बन्धित समाचार