आज मिति २०८१ पुस ११ गते बिहीबार । सन् २०२४ डिसेम्बर २६ तारिख । नेपाल सम्बत ११४५ थिंलागा एकादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १६ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्ने समय छ । तपाईंका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीको काममा पनि फाइदा नै हुने देखिन्छ । स्वादिष्ट भोजनको अवसर मिल्ने योग छ । आजको दिन विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । तर, दिनको पछिल्लो प्रहरमा केही समस्या देखापर्न सक्ने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
बृष
रोकिएका काम सुस्तरी बन्नेछन् भने नयाँ योजनासमेत अघि बढ्नसक्ने दिन छ । बोली र व्यक्तित्वको प्रभावका कारण विभिन्न अवसरले पछ्याउन सक्छ । आत्मविश्वासको भाव जागृत हुनेछ, तर पुरानो समस्याले केही झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्ध तथा प्रेमी प्रेमिकाबीच असमझदारी बढ्न सक्छ, ख्याल राख्नुहोला । खर्च पनि केही वृद्धि होला । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला ।
मिथुन
आजको दिन ब्यस्तता वृद्धि एवम् दौडधुपमा समय बित्ने देखिन्छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग छ । फाइदाका लागि आफ्ना योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । नियमित कार्यमा सफलता मिले पनि व्यापारमा कमैमात्र फाइदा होला । लाभको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । तथापि, शत्रुमाथि विजय प्राप्त हुने देखिन्छ ।
कर्कट
नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने समय छ । लेनदेनको विवादले अप्ठ्यारोमा परिएला । आज अध्ययन अध्यापनको कार्यमा मन नजाने देखिन्छ । चाहेर पनि मित्रजनलाई समय दिन नसकिएला । पुरानो समस्या दोहोरिन सक्ने योग छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह
सोचेको काम सफलतापूर्वक सम्पन्न हुने दिन छ, तर सोचेअनुसारको लाभ भने नमिल्ने देखिन्छ । विश्वास गरिएका पात्र तथा सहयोगीहरूले हात झिक्नाले अलिक अप्ठ्यारोमा परिएला । धन आर्जन भएपनि तत्काल खर्च हुने योग छ । मनमा द्विविधाको भाव रहनाले महत्वपूर्ण कार्यमा पछि पर्ने सम्भावना छ । रसरागात्मक कर्यमा आकर्षण बढ्नेछ ।
कन्या
नयाँ काममा हात हाल्ने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । नसोचेको ठाउँबाट धनलाभ हुने योग छ । तथापि, बाध्यतामा अल्मलिनुपर्दा नियमित कर्म अवरुद्ध हुनसक्छ । महत्वपूर्ण योजना असफल हुने भयले सताउला । जथाभावी वचन दिने बानीले अप्ठ्यारोमा पार्नसक्छ, सावधानी अपनाउनु उचित होला । आरोग्यता रहनेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।
तुला
रचनात्मक काम सुरु गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला दिलाउला । यात्रागत कार्य पनि सार्थक हुने देखिन्छ । आज अप्रत्यासित धनलाभको सम्भावना छ । कृषिकार्यबाट सामान्य लाभ उठाउन सकिनेछ । साहसिक काममा आकर्षण रहला । समष्टिमा आजको दिन रमाइलैसँग बित्नेछ ।
बृश्चिक
आजको दिन केही चुनौतियुक्त तथा प्रतिकुल रहन सक्छ । साझेदारीको कार्यमा समस्या आउनुका साथै अहम् सम्झौता भंग हुनसक्ने योग छ । अरूको फाइदाका लागि उपयोग भइएला । विशेष सचेतना र धैर्य राखी कार्य गर्नु हितकर हुनेछ । सबल स्वास्थ्यको लागि खानपानमा सजगता अपनाउनु पर्ने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । आज विशेष व्यक्तित्वसँग भेटघाटको अवसर जुर्नसक्छ ।
धनु
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहने देखिन्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग भएपनि असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्ने देखिन्छ, सजग रहनुहोला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय छ । पढाइलेखाइमा पनि प्रगति होला । आजको दिन बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा लाभ पुग्नेछ । कर्मबल बढ्नेछ ।
मकर
भूमि तथा मातृधनबाट लाभ लिने समय छ । परिवारजन तथा बन्धुबीच आत्मीयभाव जागृत होला । पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले महत्वपूर्ण काममा नोक्सानी पुऱ्याउन सक्छ । तथापि, प्रतिस्पर्धी परास्त हुनेछन् भने मित्रजनले राम्रै साथ दिनेछन् । भाग्यबल बढ्ने छ ।
कुम्भ
अवसरको खोजीमा केही दौडधुप गर्नु परे पनि विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्ने दिन छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । बिग्रिएको सम्बन्धमा सुधार र काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्दै हुनुहुन्छ भने उचित समय छ । धनआर्जनको योग छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन
मेहनतले लाभ प्रदान गर्ने समय छ । व्यापारमा सन्तोषजनक लाभ हुने देखिन्छ । महत्वपूर्ण योजनामा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । तर, निकट सहयोगीजनबाट अलिक धोका मिल्ने सम्भावना छ, सचेत रहनुहोला । दाम्पत्यसुख बढ्नेछ । अध्ययन अध्यापनमा पछि परिने सम्भावना छ । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।