काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमणपछि बीआरआईको कार्यन्वयनबारे एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यसबारे आफ्नो धारणा राखेका हुन् ।
भ्रमण दलका सदस्यसमेत रहेका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानून, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए ।
उनले परम्परागत कानून परिमार्जन, वैदेशिक लगानी सहजीकरणका बारेमा पनि दुई पक्षबीच राम्रो छलफल भएको बताएका थिए ।
‘भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यामान कानून र निजी क्षेत्रले लिने पहल कदमीका बारेमा चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो, उनले भने, पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ ।’
अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद् रहेको धारणा राखेका थिए । उनले सडक, हवाई, रेल र सञ्चार सञ्जालको विकासबाट जोडिनु पर्ने कुरा प्राथामिकताका साथ राखेको जानकारी दिए ।