काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने ४२७२ मतका साथ विजयी भएकी हुन्।
उनले कांग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित गर्दै विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।
यसअघि नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धामा थिए ।
जाजरकोट केन्द्रविन्दु बनाएर गत वर्षको कात्तिक महिनामा गएको भूकम्पमा परी तत्कालीन नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो ।
जाजरकोट सदरमुकाम खलंगामा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।
नलगाड नगरपालिका ८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।