प्रधानमन्त्रीलाई सफलताको शुभकामना दिँदै यी आयोजनामा समझदारी गर्ने निर्णय

0 Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका विषयमा सफलताको शुभकामना दिएको छ । सरकारले चीन सरकारसँग हुने विकास योजनाको समझदारी पत्र स्वीकृत गरेको छ ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको भएको हो । उक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले नेपाल सरकार र चिनियाँ सरकारबिच नेपालमा बोल्ने चाइनिज ल्याङ्ग्वेज विकास प्रोग्राम परिचालनका सम्बन्धमा तयार भएको समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा सम्बन्धित समकक्षी पदाधिकारीबाट हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति दिने निर्णय भएको छ ।

सरकारले प्रस्तावित २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गर्ने, उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने, प्रस्तावित ३ सय मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने, उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।

मन्त्री गुरुङले इन्जिनियरिङ समुहका रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरिएको जानकारी दिए । उनले प्रधानसेनापति अशोकराज सिग्देलको भारत भ्रमणको स्वीकृत दिने निर्णय भएको बताए ।

 

सम्बन्धित समाचार