काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि सत्तामा जाने बताएका छन् । आफ्नो पार्टीसँग भएको संख्या (३२ सीट) अझै म्याजिक नम्बर भएको दाबी गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादी केन्द्र काभ्रे-काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले म्याजिक नम्बरका कारणले अहिले चिन्तित हुनु पर्ने अवस्था नभएको बताएका छन् ।
‘हामीले भ्रष्टाचारविरुद्धको अभियान भनेर सुरु गर्यौँ, हामीसँग संख्या थिएन, यही हलमा हो, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो, मैले ३२ को हाम्रो संख्यालाई जादूको संख्या भनेको थिएँ, मेरो यही भनाइले उनीहरु अझै बढी उद्वेलित र तरंगित भए होलान्,’ उनले भने, ‘मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला, तर पनि अहिले पनि हाम्रो संख्या म्याजिक नै छ भन्छु, प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी, विपक्षी दल भनेको गभमेण्ट इन वेटिङ भन्छ, पर्खिरहेको सरकार, यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, त्यसकारण हामी चिन्तित हुनु पर्ने कारण छैन ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठक बसेर नयाँ कार्यक्रमसहित जनतामा जाने तयारी भइरहेको बताए ।