काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गरिरहेको आन्दोलनबारे समिक्षा भइरहेको जानकारी दिएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको पार्टी संसदीय दलको अनौपचारिक छलफलपछि कुरा गर्दै परियारले आन्दोलनलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।
‘हामी छलफल गर्ने क्रममा सबै कोणबाट छलफल गर्छौं, आन्दोलन गर्ने विषयमा छलफल गर्छौं, आन्दोलन नगर्ने पक्षमा कोणबाट पनि छलफल गर्छौं, आन्दोलनबाट पुगिन्छ कहाँ ? हुन्छ के ? भन्नेबारे छलफल गर्छौं,’ उनले भने, ‘पार्टीको मात्रै आन्दोलनले पुगिन्छ कहाँ ? के फाइदा हुन्छ ?’
आफूहरूको आन्दोलनले पार्टीलाई मात्रै नभई जनतालाई पनि फाइदा हुनु पर्ने भन्दै उनले विभिन्न कोणबाट खुल्ला रुपमा पार्टीभित्र बहस भएको बताएका हुन् । पार्टीभित्रको विवादका विषयमा सोधिएको प्रश्नमा परियारले पार्टीभित्र कुनै गुट उपगुट नरहेको दाबी गरे ।
कार्यबहाक सभापतिका विषयमा पनि पार्टीभित्र कुनै विवाद नरहेको उनको भनाइ छ । उनले आफ्ना नेताविरुद्ध अदालतको अवहेलना मुद्दाका विषयमा पार्टीभित्र छलफल चलिरहेको जानकारी दिए ।
गत कार्तिक २ गते काठमाडौँस्थित पार्टी कार्यालयबाट पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभर आन्दोलन गर्दै आएको छ । उनी सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा छन् ।