काठमाडौँ । असोज ११ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले निरन्तर विगत ६ दिनदेखि अर्थात यो साताभरी नै रेकर्ड बनाएर बढेको हो । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आईतबारदेखि सुनको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको हो ।
गत बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको चाँदीको मूल्य भने यस दिन पनि सोही मूल्यमा कारोबार भइरहको छ। चाँदीको मूल्य दुई दिनदेखि स्थिर रहेको हो । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।
यसभन्दा पहिले चाँदीको मूल्यले जेठ ७ गतेको रेकर्ड बनाएको थियो । सो दिन चाँदीको मूल्य एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।