काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय निशा बानियाँ, उद्धबप्रसाद पुडासैनीको इजलासले निजहरूविरुद्ध ३३७ जनाको किटानी जाहेरी परेको तथा पाँच करोड ५० लाख भन्दाबढी रकम हिनामिना गरेकाले पुर्पक्षका लागि पठाउने आदेश गरेको हो ।
यूरो विइङस एजुकेसन कन्सल्ट्यान्सीको नाउँमा तामाङद्वयले वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्याडलगायत देशमा पठाइदिन्छौँ उक्त रकम ठगी गरेका थिए ।
तमाङद्वयले वैदेशिक रोजगारीमा नपठाएपछि वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम कारबाही गरि पाउँ भनी लक्ष्मण कटुवालसमेत ३३७ जनाको किटानी जाहेरी परेकामा अनुसन्धानको क्रममा कागज गर्ने इन्द्रमाया गुरुङ समेतले जाहेरी दिएका थिए ।
न्यायाधीकरणले यूरो विइङस एजुकेसन कन्सल्ट्यान्सी विकास वाइवाको नाउँमा दर्ता भएको तर वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजतपत्र नलिएको पाइएको छ । विदेश जानका लागि प्रक्रियामा पैसा लाग्ने भन्दै सानिमा विकास बैंक र एनएमबी बैंकको खातामा पाँच करोड ५१ लाख १४ हजार जम्मा गर्न लगाइएको पीडितहरूले बयान दिएका थिए ।
आदेशमा “अभियोगमा उल्लेखित दसीको रुपमा दाखिला हुन आएका वा १८ च ३५१४ नम्बरको क्रेटा गाडी र बा १५ च ४१९२ नम्बरको टकसन गाडीसमेत हस्तान्तरण नपाउने गरी रोक्का राख्न सम्बन्धित यातायात कार्यालयमा लेखी पठाइ उक्त गाडी यस न्यायाधिकरणको जिन्सी खातामा आम्दानी बाँधी सुरक्षित राख्नू, ल्यापटप, मोबाइलसमेतका जिन्सी समानको आम्दानी बाँध्नू र अभियोग साथ दाखिल हुन आएको नगद रकम धरौटी आम्दानीमा बाँध्नू ।” पीडितको उजुरीपछि नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ती गाडीलाई नियन्त्रणमा लिएको छ ।
अदालतले उक्त मुद्दामा मिसिल संलग्न किटानी जाहेरी दरखास्त इन्द्रमाया गुरुङ समेतले मौकामा गरेको कागज, जाहेरवाला विजयकुमार तिमिल्सिना समेतले गरिदिएको सनाखत मुचुल्का, प्रतिवादीको बैंक खातामा रकम जम्मा भएको देखिने बैंक भौचर, बैंक स्टेटमेन्टले उनीहरू निर्दोष हुन् भन्न सकिने अवस्था नरहेको ठहर गरेको छ ।