0
Shares
काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा अवरुद्ध सडक साढे ६ घण्टापछि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख तथा प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए ।
‘धादिङको धुनिबेसी नगरपालिका ९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदोसहितको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो, अहिले पहिरो पन्छाएपछि एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ,’ उनले भने ।
सडक अवरुद्ध हुँदा काठमाडौँबाट छुटेका तथा काठमाडौँ आउँदै गरेका साना ठूला गरी सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र अवस्थामा थिए ।
राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकाले खुलाउन समय लागेको प्रहरीले जनाइएको छ । सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि सवारी साधन र यात्रु गन्तव्यतिर लागेका छन् ।