काभ्रेमा दुर्घटनामा परेका दुई जनाको मृत्यु

0 Shares

काभ्रे । जिल्लामा आइतबार भएको दुर्घटनामा गम्भीर घाइते दुई जनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागे घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

पनौती नगरपालिका ६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका १ का २० वर्षीय सविन चौधरीको मत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बनेपा-पनौती सडक खण्डअन्तर्गत पनौती नपा ५ ढलमलेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदल यात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको मृत्यु भएको हो ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१३ प ०७५१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट लागेको थियो । उनको उपचारका लागि काठमाडौँको नर्भिक अस्पताल लगिएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जनाइएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बनेपा नपा ७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएका थिए ।

सम्बन्धित समाचार