काठमाडौँ
संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल नगर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । आइतबार सकिएको केन्द्रीय समिति बैठकले आगामी चुनावमा कसैसँग तालमेल नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव पारित गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री थापाले आगामी चुनावमा कसैसँग तालमेल नगर्ने अडान लिएका थिए । ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेस एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनः स्थापित गर्नेछौं’, निर्णयमा भनिएको छ ।
महामन्त्री थापाले यो प्रस्ताव गत फागुनमा सम्पन्न महासमिति बैठकमा राखेका थिए । तर महामन्त्री थापाको यस्तो प्रस्तावमा सभापति शेरबहादुर देउवाले विमति जनाए ।
महामन्त्री थापा आफ्नो प्रस्तावमा अडिग रहने र सभापति देउवाले अस्वीकार गर्दा नेताहरु दुई खेमामा विभाजित भएका थिए । त्यसबेला महामन्त्री थापाको प्रस्ताव थियो, ‘पार्टी संगठन र समर्थक–शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं ।’
देउवा पक्षीय नेताहरुले चुनावी तालमेल रणनीतिक विषय भएकाले सार्वजनिक निर्णय गरेर जान नहुने तर्क गरे । सभापति देउवा तयार नभएकाले महासमितिले निर्णय लिन सकेन ।
तर यही प्रस्तावलाई देखाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण बदल्ने निर्णय गरेका थिए । गत २१ फागुनमा कांग्रेससँग सहकार्य तोडेर नेकपा एमालेसँग सत्ता साझेदारी गर्ने निर्णय गर्दा प्रचण्डले महामन्त्री थापाको प्रस्तावलाई देखाएका थिए ।