नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले उक्त कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने भएकाले अहिलेको अवस्थामा माओवादी नै नयाँ शक्ति भएको दाबी गरे ।
‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ’ उनले भने, ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं । संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’
प्रचण्डले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेण्डा बनाएर समाजवादमा पुग्ने विश्वास व्यक्त गरे । सबै क्षेत्रमा युवालाई साथमा लिएर नयाँ एजेण्डा पूरा गर्न सकिने उनको भनाई छ ।
अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताए । आफूले पार्टीको नेतृत्व गरेको ३५÷३६ वर्ष पुगिसकेको उल्लेख गर्दै भने, ‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ । पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५/३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोंचमा छु ।’
प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको बताए । समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने क्रम पनि अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताए । सरकारमा जानुभन्दा अब पार्टी निर्माण कार्यमा लागिरहेको उल्लेख गर्दै प्रचण्डले आफू सरकार हुँदासमेत चार महिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढिकरण गरेर लगेको बताए ।
अध्यक्ष प्रचण्डले वर्तमान सरकार जनताको भावनाविपरित चलिरहेको आरोप लगाए । ‘संविधानको भावनाविपरित बनेको सरकारले निरन्तर जनताका इच्छा विपरित काम गरिरहेको छ’ उनले भने, ‘यसको विरुद्धमा हामी आवश्यक परेमा सडकमा पनि जान सक्छौं ।’