बाबुरामले महेन्द्र र गंगालाई भने- अराजनीतिक र पद भ्रष्ट

0 Shares

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले आफ्नै पूर्व सहकर्मी महेन्द्र राय यादव र गंगानारायण श्रेष्ठ अराजनीतिक र पद भ्रष्ट भएको आरोप लगाएका छन् । पार्टी प्रवक्ता कृष्ण शर्माल शुक्रबार विज्ञप्ति जारी गरेर यादव र श्रेष्ठलाई समेत कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

बाबुराम नेतृत्वको नेसपा प्रवक्ता शर्माले आफ्नोे पार्टीको नाम, झण्ड, लोगो र एजेण्डालाई दुरुपयोग गरेको आरोप लगाएका हुन् । पार्टीको सदस्य नभएका निर्वाचन आयोगको अभिलेखिकीरणमा समेत नभएकाले व्यक्तिहरु पार्टीको काँध चढेर सत्ता र शक्तिको दुरुपयोग नगर्न उनले आग्रह गरेका छन् ।

नेसपा यादव-श्रेष्ठ पक्षले आफ्ना पार्टीका अध्यक्ष र सहअध्यक्षमाथि अराजनीतिक गालिगलौज बन्द गर्न आग्रह गरेका छन् । नेसपा यादव-श्रेष्ठ पक्षले शनिबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भाद्र १४ गते प्रवक्ता शर्माको नामबाट वक्तव्य जारी भएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वक्तव्यमा पार्टीका अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठमाथि तल्लो स्तरको आरोप लगाइएको भन्दै सो आरोपको खारेज गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । महासचिव रमेश प्रसाद यादवको हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा आफ्ना अध्यक्ष र सहअध्यक्षमाथिको अराजनीतिक गालीगलौज बन्द गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रवक्ता कृष्ण शर्माको नामबाट मिति २०८१ भाद्र १४ गते प्रकाशित वक्तव्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, वक्तव्यमा पार्टीका अध्यक्ष र सहध्यक्षमाथि तल्लो स्तरको आरोप लगाएको छ, त्यसको हाम्रो पार्टी खारेज गर्दछ, साथै अराजनीतिक गालीगलौज बन्द गर्न अनुरोध पनि गर्दछ ।’

नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने कि नगर्ने भन्ने विवाद हुँदा नेपाल समाजवादी पार्टी दुई खेमामा बाँडिएको छ । दुई अध्यक्ष रहेका नेसपामा डा. बाबुराम भट्टराई पक्षधर माओवादी केन्द्रसँग एकता नगर्ने पक्षमा छ भने अर्का अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठ पक्षधर भने माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा रहेको छ ।

दुवै पक्षले छुट्टाछुट्टै पार्टीका गतिविधिहरू सञ्चालन गर्ने गरेका छन् । यसै सन्दर्भमा शुक्रबार डा. भट्टराई पक्षले प्रेस विज्ञप्ति जारी गर्दै यादव र श्रेष्ठलाई अनुशासनहिन व्यक्तिको संज्ञा दिँदै दुषित मनसायका साथ पार्टीको नाम, झण्डा र एजेण्डाहरूको दुरुपयोग गरी जनतालाई भ्रमित गरिरहेको आरोप लगाएको थियो ।

सो आरोपको खण्डन गर्दै यादव-श्रेष्ठ पक्षले पार्टी केन्द्रीय समितिको बैठक र निर्णय दुई अध्यक्षको सहमति र उपस्थितिमा गर्नु पर्नेमा अध्यक्ष भट्टराईले २०८० चैत्र ५ गते अवैधानिक रूपमा एकतर्फी ढंगबाट केन्द्रीय समितिको बैठक बोलाई पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने घोषणा सहित केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको आरोप लगाएको छ ।

त्यस्तै, आयोजक समिति घोषणापश्चात् २०८१ ज्येष्ठ १२ गते पुनः आफैले महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको केन्द्रीय समितिलाई थपघट गरी २०८१ ज्येष्ठ १६ गते अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएर अवैधानिक र अराजनीतिक निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भट्टराई पक्षको उक्त निर्णयहरू अवैध घोषणा गर्न २०८१ असार १३ गते निर्वाचन आयोगमा आफूहरूले निवेदन दर्ता गराएको भन्दै आफूहरू निर्वाचन आयोगको जवाफको प्रतीक्षामा रहेको बताइएको छ । आवश्यक परे थप कानूनी प्रक्रियामा जान पनि पार्टी तयार रहेको यादव-श्रेष्ठ पक्षको भनाइ छ ।

सम्बन्धित समाचार