भारतमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटनामा एक जनाको मृत्यु

0 Shares

काठमाडौं । भारतको समस्तीपुरमा बाराको बारागढी नगरपालिकाका तीर्थालु सवार बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

बारागढी गाउँपालिका ३ मुर्कीपालियाका ६२ वर्षीय किशोरीराम महरा चमारको उपचारको क्रममा पटनामा मृत्यु भएको हो । घाइते किशोरीको समस्तीपुरबाट ‘रेफर’ गरी पटनास्थित एम्स अस्पताल लगिएको थियो ।

किशोरीको शव शुक्रबार राति नेपाल ल्याइएको थियो । उनको अन्त्येष्टिसमेत शुक्रबार राति ११ बजे गरिएको स्थानीयबासीले जनाएको छ । किशोरीसँगै उनकी पत्नी रामपति र नातिनी सुजिता घाइते भएका थिए । उनीहरू उपचारपछि निको भएका छन् ।

बारागढी गाउँपालिकाका तीर्थालु बोकेको बस गत आइतबार बिहारको समस्तीपुरको मुसरीघरारीमा ट्रकले ठक्कर दिँदा पल्टिएको थियो । दुर्घटनामा बसमा सवार सबै घाइते भएका थिए । घाइतेमध्ये अन्य दुई जनाको भारतमा उपचार जारी छ ।

सम्बन्धित समाचार