काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सांसद योगेश भट्टराईमाथि हतियार तस्कर गरेको आरोप लागेको छ । उनले जनयुद्धको समयमा हतियार ओसारपसार गरेको भन्दै नेकपा माओवादी केन्द्रका सांसदहरूले छानबिन गर्न माग राखेका हुन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै माओवादी सांसद छिरिङ डम्डु लामा भोटे र छिरिङलामू लामा तामाङले छानबिन गर्न माग राखेका हुन् । सांसद भोटेले भट्टराईलाई ‘जनयुद्धको नाममा चन्दा र हतियार तस्कर’ गर्नेले जनयुद्धलाई हिंसा भनेको आरोप लगाए ।
‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो,’ उनले भने । अर्का सांसद तामाङले सांसद भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप छ नि ? भन्दै प्रश्न गरी छानबिन गर्न माग गरिन् ।
उनले भने, ‘एमालेबाट प्रतिनिधित्व गरेर संसद्को मान पनि नराखी पटक पटक यो व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गरियो, यस्तो रवैयाले देशलाई अर्को द्वन्द्वमा लाने भित्री मनसाय प्रकट भएको हो कि‚ उहाँको विषयमा कन्ट्रोभर्सी छ, उहाँ मन्त्री हुँदा नारायणहिटीको बतास काण्ड होस् वा केही समयअघि एक जना माननीय ज्यूले जनयुद्धमा हतियार खरिद बिक्री र ओसारपसारको आरोप लगाएको कुरा होस्, यसमा छानबिन होस् ।’
एमाले सांसद भट्टराईले बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी युद्धलाई हिंसाको संज्ञा भन्दै बारम्बार बोलेका थिए । उनले हिंसा शब्द प्रयोग गरिरहँदा संसद् बैठक अवरुद्ध हुने अवस्था पुगेको थियो ।