काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु बलियो प्रतिपक्षको रुपमा अघि बढ्ने बताए । ‘यो सम्मानित संसदमा मैले पटकपटक भनिरहेको छु, आमजनतामा ठूलो निराशा र मोहभंग छ, ठूलो असन्तोष छ, यो संसदसहित हामी सबै दल जनताको ठूलो निगरानीमा छौँ, कांग्रेस र एमालेका साथीहरुलाई मेरो अनुरोध छ, जनता अहिलेको राजनीतिक शैलीसँग, चरित्रसँग, व्यवहारसँग रिसाएको छ,’ उनले भने ।
उनले प्राविधिक रुपमा कांग्रेस-एमालेले ठूला भए पनि जनतासँगको सम्बन्ध एकदमै कमजोर भएको दाबी गरे । ‘जनतामा ठूलो असन्तोष, घृणा र आक्रोश छ, लोकतन्त्रको सर्भिसिंगबिना अब जनतालाई आश्वस्त गर्न सकिँदैन, यही भएर हामीले सुशासनको एउटा अभियान सुरु गरेका थियौँ, त्यसलाई तपाईहरुले भत्काइसक्नु भयो, दुई ठूला पार्टी मिलेर बेथिति थप्दै जाँदा कतै यो व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने मेरो चिन्ता छ,’ उनले थपे ।
‘सत्तासीन साथीहरुलाई मेरो अनुरोध छ, संख्याको भ्रममा नपरौँ, सत्यसँग साक्षात्कार गरौँ, धेरै टाढाका, अघिका, इतिहासका ठूला शिक्षा भन्दिनँ, छेवैका श्रीलंका र बंगलादेशका घटनाबाट सिकौँ,’ उनले भने ।