काठमाडौँ
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक अघि पार्टीका शीर्ष नेताहरू बोलाएर छलफल गर्न थालेका छन् । मङ्गलवार बिहानै देउवाले बुढानीलकण्ठ बोलाएर बुधवार बस्ने केन्द्रीय समिति बैठक अघि छलफल गर्न लागेका हुन् ।
सभापति देउवाले उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएको एक नेताले बताए । देउवासँगको छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्री थाप र शर्माको प्रतिवेदनमा सहमति जुटाउने प्रयास हुने बताएको छ ।
काँग्रेसले भदौ १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । महामन्त्री शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावलाई संस्थापन पक्ष र इतर समूहका नेताहरूले पनि रुचाएका छैनन् । यस्तै अर्का महामन्त्री गगनकुमार थापाले काँग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्तावमा पनि संस्थापन पक्षले आपत्ति जनाएका छन् ।
यी दुई विषयमा विवाद हुँदा साउन साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ देखि भदौ ७ गतेसम्म बैठक स्थगन भएको थियो । भदौ ७ मा बसेको बैठकमा पनि सहमति नजुटेपछि १२ गते सम्मका लागि बैठक स्थगन गरिएको थियो । बैठक बस्नु अगावै सहमतिको प्रयासमा सभापति देउवा जुटेका हुन् ।