काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले मन्त्रीहरूले एक महिना व्रत बस्नु पर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्रीहरूलाई भदौ महिना काम गरेर नबोल्ने व्रत बस्न भनेका हुन् ।
‘अब साउन सकिन लाग्यो, तीर्थ व्रत पनि सकिन लाग्यो, भदौ लाग्न लागेको छ, यो महिना हाम्रा मन्त्रीहरू व्रत बस्नुहोस्, यो महिना नबोल्ने व्रत बस्नुहोस्, काम गर्ने ठाउँमा हुनुहुन्छ काम गर्नु होस्,’ उनले भने ।
यसैगरी, सांसद थापाले आफूहरू बोल्ने ठाउँमा भएको बताउँदै सरकारले गरेको कामको प्रचार गर्ने बताए । ‘हामी बोल्ने ठाउँमा छौँ, हामी बोल्छौँ, तपाईंहरू काम गर्नुहोस्, त्यसलाई पाँच गुणा प्रचार गर्ने काम हाम्रो हो, हेर्नुहोस् कांग्रेस र एमालेका सांसदहरू कति छौँ ?,’ उनले भने, ‘हामीले टेबल ठोक्दा तर्सेर उठेर जाने अवस्था हुन्छ, तपाईंहरूले राम्रोसँग काम गर्नुहोस् हामी टेबल ठोक्छौँ, तपाईंहरू धमाधम काम गर्ने, हामी यहाँ आएर टेबल ठोक्ने ।’
यस्तै, उनले हरेक मन्त्रायलसँग जोडिएका स-साना कामहरू भएको बताउँदै काम गर्नमा ध्यान दिन आग्रह गरे । यसका लागि कानूनभन्दा मन्त्रीहरूको इच्छा शक्ति आवश्यक भएको उनको भनाइ थियो ।
सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कम बोल्नु पर्ने उनको भनाइ थियो । ‘सम्मानिय प्रधानमन्त्री ज्युले पनि म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने होइन, प्रधानमन्त्रीले भनिराख्नु पर्दैन,’ उनले भने ।