काठमाडौँ
राष्ट्रिय सभा गृह काठमाडौँमा २०८० साल असार ४ गते समाजवादी मोर्चाको घोषणा भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ सहित दोस्रो तहका नेता र कार्यकर्ता राखेर भव्य रूपमा मोर्चाको घोषणा भयो ।
मोर्चाको नेतृत्व आलोपालो गर्ने समझदारी बमोजिम संयोजक चारै जना पालैपालो भए । मोर्चाले केही समय गति लिए जस्तै भयो । पछि त्यतिबेला सरकारको नेतृत्व प्रचण्डले गरेकाले मोर्चा निष्क्रिय जस्तै हुन पुग्यो । मोर्चाको बैठक बस्ने र पार्टीको प्रदेशसम्म संयन्त्र बनाउने बाहेक केही गर्न सकेन ।
प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि विप्लवको नेतृत्वमा गत असार २५ गते मोर्चाको बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा बैठक बस्यो । बैठकले मोर्चालाई प्रभावकारी बनाउने निर्णयसँगै जसपाबाट यादव सहभागी नभएपछि बाबुराम भट्टराईबाट अलग भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई सहभागी गराइयो । जसपाका अध्यक्ष यदावलाई सहभागी हुन आग्रह गर्ने निर्णय ग¥यो । त्यसपछि एक महिना पुग्नै लाग्दा समेत मोर्चाको बैठक बस्न सकेको छैन ।
माओवादी बैठकमा अधिकांश नेताहरूले मोर्चालाई एकतामा रूपान्तरण गर्नुपर्ने सुझाव दिएको एक पदाधिकारीले बताए । ‘समाजवादी मोर्चा बनाएर मात्रै भएन त्यति विधि प्रभावकारी बनाउन सकिएन । बरु कार्यदल बनाएर पार्टी नै एकता गरेर जानुपर्छ भन्ने सुझाव आएका छन्,’ ती पदाधिकारीले भने, ‘तर, पार्टीबाट भने कार्यदल गठन भई सकेको छैन । मोर्चाका शीर्ष नेतृत्वसँग छलफल जारी छ ।’
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी मोर्चालाई एकतामा रूपान्तरण गर्न प्रयास गरिने बताए । पार्टी बैठकपछि शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले एकीकृत समाजवादी सहित महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा एकता गर्न संवाद थालिने बताएका थिए ।
तर, विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चालाई एकतामा रूपान्तरण गर्न उद्देश्यमा स्पष्ट भएर गर्दा दिगो हुने बत्ताउँछन् । ‘अहिले नेपाल मात्र होइन सिङ्गो दक्षिण एसियामा नेतृत्वको खडेरी छ त्यसमा पनि व्यवस्थाप्रति नै वितृसना छ’ उनले भने, ‘यस्तो अवस्थामा विचार सहितको समाजवादी क्रान्ति र जनताको अवस्था परिवर्तनमा लाग्नुपर्छ ।’ विचारविहीनले देशको नेतृत्व गर्न नसक्ने भएकाले कम्युनिस्ट क्रान्तिकारीहरू नै अघि सर्नुपर्ने आवश्यकता देखिएको विश्वकर्माको तर्क छ ।