तेस्रो जनआन्दोलनको आन्तरिक तयारीमा जुट्दै प्रभु साह

0 Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह तेस्रो जनआन्दोलनको आन्तरिक तयारीमा जुटेका छन् । तेस्रो जनआन्दोलनको घोषणा गर्दै उनले आज विभिन्न चार कार्यक्रममा सहभागी जनाएका थिए ।

जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो, आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन्, यसविरुद्ध हामी एकजुट हुन जरुरी छ, पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष साहले भने ।

दलतन्त्रविरुद्ध तेस्रो जनआन्दोलनलाई निर्णायक बनाउन साहले योजनाबद्ध तरिकाले अगाडि बढिरहेका छन् । उनी लगातार युवा विद्यार्थी, मजदुर, धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन् ।

युवाहरुको बलियो संगठन आईटी आर्मी गठन गरेर अभ्यास गर्दै अगाडि बढेका साहले गत २४ चैत २०८० मा काठमाडौंमा एक बृहत सभा गरेका थिए । २४ चैतमा आम जनताको शासन व्यवस्थाका लागि दलाल दलतन्त्र विरुद्ध ‘तेस्रो जनआन्दोलन’को उद्घोष गरेका साहले त्यसयता बैठकलगायत विभिन्न कार्यक्रममार्फत दलाल दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै आएका छन् ।

शनिबार बिहान ८ बजे आजपाको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा कबाड व्यवसायीसँग साहले बैठक गरे । सर्वोच्च अदालतको आदेश विपरीत काठमाडौं महानगरले कबाड व्यवसायीलाई दुःख दिन थालेपछि उनीहरुलाई साहले साथ दिएका थिए । साहकै सहयोगमा काठमाडौंमा कबाड व्यवसायीले पटक पटक प्रदर्शन गर्दै आएका छन् ।

यस्तै, आजपा अध्यक्ष साहले आज बोलबम कवरिया संघको कालिमाटीस्थित कार्यक्रममा पनि सहभागी भएका थिए ।

अहिले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र खतरामा परेको टिप्पणी साहले गरे । एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न अब विद्यार्थी, मजदुर, व्यवसायी सहितकाले सामूहिक रुपमा सडक संघर्षमा उत्रिनमा ढिलाई गर्न नहुने बताए ।

सम्बन्धित समाचार