काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा बिहीबार साँझ भएको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने कार्यक्रमबारेको छलफलमा ओलीले राज्यको बजेट न्यून भएको अवस्थामा भौतिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक विधिलाई प्राथमिकता दिने गरी कार्यक्रम निर्माण गर्न निर्देशन दिए ।
ओलीले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई आवश्यक सेवा सुविधा उपलब्ध गराइ बिरामीको सेवा परिचालन गर्न सुझाव दिए । अस्पतालमा आकस्मिक सेवालाई प्रभावकारी बनाउन र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप जिम्मेवार बनाउने व्यवस्था गर्न ओलीले निर्देशन दिए ।
स्वास्थ्य र अन्य क्षेत्रमा अनावश्यक उपकरण तथा औषधि खरिद गर्ने र थन्क्याउने काम भइरहेको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गर्दै ओलीले राज्यको स्रोत र साधनको दुरुपयोग अन्त्य गर्न आग्रह गरे । ‘खरिद गरिएका उपकरण र औषधि प्रयोग भएनन् भने निजी क्षेत्र वा अन्य कुनै परोपकारी संस्थालाई पनि दिन सकिन्छ तर दुरुपयोग वा प्रयोगविहीन हुनुभएन, यसतर्फ विशेष ध्यान दिनुहोला’ उनले भने ।
प्रधानमन्त्रीसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, मुख्यसचिव लीलादेवी गड्तौला सहित कर्मचारीहरू सहभागी भएका थिए ।