काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई ‘मनरो डक्ट्रिन’बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् ।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने बताए । यसका साथै उनले स्वर्णिमलाई आफ्नो भूल सच्याउन सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश–क्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन, नेपाल जस्तो दुई ठूला देशको बिचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो, स्वर्णिम वाग्लेले बेलैमा भूल सच्याउनु राम्रो होला ।’
पार्टीको नीति मन्थन कार्यक्रमको ‘उर्जा शृङ्खला’मा भाषण गरेका डा. वाग्ले अन्तिमतिर भारत दक्षिण एसियामा शक्तिशाली बन्दै गएकाले हामीले त्यहीअनुसार काम गर्नु पर्ने बताएका थिए । ‘साउथ एसियामा पनि मनरो कक्ट्रिन आयो, अब इण्डिया इज राइजिङ पावर, यो कुरा हामीले बुझिदिनु पर्छ, हामी व्यवहारिक बन्नु पर्छ,’ वाग्लेले भनेका थिए ।
डा. वाग्लेको यस अभिव्यक्तिमा एमालेका सांसदहरूले रघुजी पन्तसहित प्रतिनिधिसभा बैठकमा सांसदहरूले विरोध गर्दै कडा प्रश्न गरेका छन् ।