0
Shares
काठमाडौं । जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर नौ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।
चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको उनको भनाइ थियो ।
“कसका कति भेडा मरेका हुन् भन्ने एकीन विवरण आउन बाँकी छ, चट्याङमा परी तिला ७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्,” अध्यक्ष रोकायाले भने ।
“यसरी मरेका भेडाको बीमासमेत नगरिएकाले किसानलाई निकै ठूलो आर्थिक क्षति भएको छ, अब पालिकाको विपद् व्यवस्थापन समिति बैठकबाट राहतका लागि आवश्यक निर्णय गर्ने छौँ,” उनले थपे ।