काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल‘प्रचण्ड’ले मंगलबार पदाधिकारी बैठकलाई जवाफ दिने भएका छन् । मंगलबार बस्ने पदाधिकारी बैठकमा पार्टीका नेताहरुले उठाएको प्रश्नको जवाफ प्रचण्डले दिने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
पार्टी बैठकमा वर्तमान स्थिति र पार्टी निर्माणका सवालमा पदाधिकारी नेताहरुले खुलेर आफ्नो विचार राखेका छन् । कतिपय नेताहरुले अध्यक्ष प्रचण्डको समेत आलोचना गरेकाले सबैको जवाफ आउने गरी मंगलबार बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पार्टी नै विभाजन गर्न लागेको भन्दै गलत सूचना बाहिरिएपछि प्रचण्डले बैठकका विषयमा प्रवक्ता सापकोटामार्फत सूचना सार्वजनिक गर्न निर्देशन दिएका थिए । त्यसैले बैठकका बारेमा अरु कुनै नेताले मिडियामा सार्वजनिक रुपमा बोलेका छैनन् ।
अध्यक्ष प्रचण्डले नेताहरुको जवाफ दिनुका साथै पार्टी निर्माणका विषयमा समेत केही महत्वपूर्ण कदम लिन सक्ने आंकलन गरिएको छ । माओवादीले पदाधिकारी बैठक सकिएलगत्तै स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्ने तयारी गरेको छ ।