भ्रष्टाचार विरुद्ध कदम चाल्दा सरकारबाट हटाइयो- प्रचण्ड

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा काम गर्दा आफूलाई सरकारबाट हटाएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरुद्ध कदम चाल्दा भ्रष्टाचारमा लिप्त भएकालाई मन नपर्दा प्रतिपक्षमा पुगेको उल्लेख गरेका हुन् ।

अहिलेको सरकार निर्माण गर्दा निक्कै षड्यन्त्रपूर्ण र अपादर्शीढंगले गठबन्धन निर्माण गरिएको प्रचण्डले आरोप लगाएका छन् । आफूले भ्रष्टाचार विरुद्ध समाजिक न्यायको पक्षमा काम गर्दा कतिपयलाई मन नपर्दा पछिल्लो परिस्थिति निर्माण भएको जिकिर गरे ।

सरकारबाट माओवादी बाहिरिदा जनतासँगको टुट्दै गएको सम्बन्ध जोड्ने अवसर भएको उनले उल्लेख गरे । वर्ग र जनताको सम्बन्ध बलियो बनाएर पार्टीलाई शक्तिशाली बनाउने नेताहरुले बताएका छन् । शुक्रबारदेखि सुरु भएको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिवहरु राम कार्की, चक्रपानी खनाल लगायत नेताहरुले आ –आफ्नो धारणा राखेका छन् ।

पार्टी पदाधिकारी बैठक र स्थायी समिति बैठकमा पार्टी निर्माण सहित विचार र कार्यदिशाका विषयमा छलफल गर्ने सचिव राम कार्कीले बताए । पदाधिकारी र स्थायी समिति बैठकले एजेण्डा बनाएपछि केन्द्रीय समिति बैठकमा गम्भीर छलफल गर्ने उनले बताए ।

सम्बन्धित समाचार