काठमाडौं । लागु औषध सेवन गरी दुर्घटना गराएको भन्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बेलुका काठमाडौं महानगर १४ कुलेश्वरमा कार दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
भूपेन्द्र श्रेष्ठले लागु औषध प्रयोग गरी लापर्वाहीपूर्वक चलाएको बा १९ व ५११६ नम्बरको कारले सोही सडकको दाँया ‘साइड’को सडकपेटीको भागमा पैदल हिँड्दै गरेका तीन जना व्यक्तिलाई ठक्कर दिएको थियो । तीनै जना पैदलयात्रुलाई उद्धारगरी बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ ।
श्रेष्ठको साथबाट लागु औषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार कारको ठक्करबाट घाइते हुनेमा भारत घर भई काठमाडौं बस्ने वर्ष १८ को प्रियन्सु कुमार, वर्ष २५ को भोलाकुमार र काठमाडौं बस्ने वर्ष १९ को श्यामबाबु ठाकुर रहेका छन् ।